चौतारा । खानेपानी गुणस्तर निगरानी तथा वातावरणीय प्रदुषण नियन्त्रण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम चौतारामा सम्पन्न भएको छ । पानी जन्य विभिन्न रोगहरुको न्युनीकरणका लागि खानेपानी उपभोत्ता समितिका जिम्मेवार प्रतिनिधिहरुलाई जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा खानेपानी गुणस्तर परीक्षण तथा खानेपानी सुरक्षा योजना सम्बन्धी अभिमुखीकरण गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा खानेपानीको मुहान तथा वितरण प्रणालीको नियमित अनुगमन तथा मुल्याङ्कनबाट उपभोक्ताको खानेपानीको अवस्था पहिचान तथा खानेपानी गुणस्तर निगरानी गर्ने जस्ता बिषयमा छलफल भएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजगाईंले जानकारी गराउनुभयो ।
उहाँका अनुसार पानी जन्य रोगहरु जस्तै हैजा जुका¸ झाडापखाला¸ आउँ¸ रगतमासी जस्ता संक्रामक रोगको प्रकोप दरलाई जिल्ला तथा स्थानीय तहमा तुरुन्त न्युनीकरण गर्ने बिषयमा पिउने पानीको परीक्षणको विषयमा छलफल भएको हो ।
कार्यक्रममा ल्याब टेक्निसियन निरीक्षक सिता श्रेष्ठले कार्यक्रमको उद्देश्यको विषयमा जानकारीसँगै मुहानदेखि मुखसम्म खानेपानीलाई कसरी सुरक्षित गर्न सकिन्छ, खानेपानी सुरक्षाको आधार, लक्ष्य, उद्देश्य, आवश्यकता, चरण लगायतका बारेमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा चौतारा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केशव राज गिरीले शुद्ध खानेपानी पिउने नागरिकको नैसर्गिक अधिकार भएको बताउनुभयो । उहाँले विगतमा विना योजना तथा विना परिक्षण सञ्चालन गरिएको कार्यक्रमले वर्तमानमा आएर सोच्ने परिस्थती आएको उल्लेख गर्नुभयो ।
अभिमुखीकरण कार्यक्रममा खानेपानी उपभोक्ता समितिका जिम्मेवार प्रतिनिधिहरुले सक्रिय सहभागिता जनाउदै पिउने पानीको परीक्षणको विषयमा छलफल भएकोमा खुशी ब्यक्त गरे ।
सिन्धुपाल्चोक, बागमती