६० सामुदायिक वनले सजिएको माई नगरपालिका

होमपेज / -विद्युत / अन्तर्राष्ट्रिय / अन्तर्वार्ता / अपराध / अर्थ / आजको छापाबाट / उद्योग / कला संस्कृति / कृषि / खेलकुद / घटना / जीवनशैली / दुर्घटना / पर्यटन / पूर्वाधार / प्रवास / प्रवासका प्रतिभा / फोटो ग्यालरी / बिचार विश्लेषण / बिज्ञान प्रविधि / बैंक/वित्त / मनोरंजन / मुख्य समाचार / राजनीति / राशिफल / रोचक प्रसङ्ग / लेख / लेख/साहित्य / वाल संसार / विचार विश्लेषण / विचित्र संसार / विविध / समाचार / समाज / स्वदेशको सिर्जना / स्वास्थ्य/शिक्षा /
४ फागुन २०८० (११ महिना अघि)

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी इलामका तत्कालीन आनुसार, दानबारी, चिसापानी, महमाई गाविस तथा लक्षिम्पुर नगरपालिकाको ५ नम्वर वडा मिलाएर माई नगरपालिका घोषणा गरेको हो । २४६.०९ वर्ग किमि क्षेत्रफलमा फैलिएको माई नगरपालिकामा हाल १० वडा रहेका छन् । भौगोलिक हिसावले माई नगरपालिका २६ डिग्री ४५ मिनेट उत्तरी अक्षांश र ८७ डिग्री ५२ मिनेट पूर्वी देशान्तरमा अवस्थित छ । ३० हजार ७ सय ३२ जनसंख्या रहेको यो नगरपालिका क्षेत्रफलको आधारमा इलाम जिल्लाको दोस्रो ठूलो स्थानीय तह हो भने जनसंख्याको हिसाबले सबैभन्दा कम जनसंख्या भएको नगरपालिका हो । 

यो नगरपालिका पूर्वमा सूर्योदय नगरपालिका र रोँङ गाउँपालिका, पश्चिममा माङ्सेबुङ र चुलाचुली गाउँपालिका, उत्तरमा इलाम र देउमाई नगरपालिका तथा दक्षिणमा झापा जिल्लाका अर्जुनधारा, कन्काई र शिवसताक्षी नगरपालिकाको बीचमा चुरे क्षेत्रमा अवस्थित रहेको छ । हाल नगरपालिको वडा नं. २ मा रहेको शितलीलाई नगरपालिकाको केन्द्रका रुपमा तोकिएको छ । व्यावसायिक रुपमा धान, केरा, सुपारी र मासुजन्य उत्पादनको लागि इलामकै पकेट क्षेत्रको रुपमा पहिचान बनाएको यस नगरपालिकामा चिया खेती पनि उल्लेख्य रुपमा भइरहेको छ । 

स्थानीय उत्पादनलाई छिमेकी जिल्ला झापाको शनिश्चरे, बिर्तामोडमा विक्री गर्ने यहाँका मानिस को दोस्रो पेशा भनेको वैदेशिक रोजगार हो । यसका अलावा यहाँका जनता सरकारी, निजी सेवा, सुरक्षा क्षेत्र, व्यापार व्यवसायमा समेत आवद्ध छन् । 

सखुव, सिमल, करम, लामपाते, साज, चिलाउने, सादनजस्ता रुख एवं चिराइतो, हर्रो, बर्रो, तुलसी, अमला, तितेपाती जस्ता औषधि पाइने यस पालिकामा जिल्लामै सबै भन्दा बढी ६० वटा सामुदायिक वन रहेको छ भने १३ कुने सिमसार, शितली चिया बगान, शोक्तिम चिया बगान, शिव पोखरी, झण्डीडाँडा शिवालय, पुर्वे झोडा, गिट्टिडाँडा पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् ।

धार्मिक, भाषिक, सांस्कृतिक विविधता रहेको यस पालिकामा मुख्य रुपमा लिम्बु, तामाङ, राई, मगर, नेवार, कुमाल, ब्राह्मण, क्षेत्री र दलित जाति तथा धर्ममा किरात, हिन्दु, बौद्ध र इसाई धर्मावलम्वीको बसोबास रहेको छ । आ–आफ्नै धर्म अनुसारको चाडपर्व जस्तै दशैं, तिहार, ल्होसार, उधौली, उभौली, धान नाच, चण्डी नाच, बुद्ध जयन्ती, इद पर्वहरु यहाँ मनाइने मुख्य चाडपर्व हुन् । बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक जनताहरुको बसोबास रहेको भएतापनि विविधतामा एकता यस नगरपालिकाको गहनाको रुपमा रहेको छ । 

पालिकाका १० वटै वडामा आधारभूत स्वास्थ्य चौकी एवं स्वास्थ्य चौकी उपलब्ध भएको पालिकाको केन्द्र शितलीमा १५ शैय्याको अस्पताल निर्माणको प्रक्रियामा छ । यसैगरी यस पालिकामा ४४ वटा सामुदायिक विद्यालय र १४ वटा निजी विद्यालय रहेका छन् । 

पूर्वाधारका हिसाबमा हेर्ने हो भने खुदुनाबारी–सुखानी–राजदुवाली सडकअन्तर्गतको सुखानी लोदिया कालोपत्रे, वडा नं. ३ मुसेखोला कालो पत्रे, माई पुल, लोदिया पुल, सुखानी पुल, प्रत्येक वडा सम्म सडक पुग्नु, महमाई–माङसेबुङ कालो पत्रे ठेक्का लाग्नु आदि स्थानीय तह स्थापना भए पश्चात प्राप्त भएका उल्लेखनीय सुविधा र पूर्वाधार हुन् । 
 
 

अन्तिम अध्यावधिक: ८ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस